AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाज
  • भत्किएको महानगरलाई कसले बनाउने ?

भत्किएको महानगरलाई कसले बनाउने ?

  • शनिबार, भदौ २, २०८०
भत्किएको महानगरलाई कसले बनाउने ?

काठमाडौं-काठमाडौं महानगरपालिकाभित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरु भत्काइएका छन्, तर बनाइएका छैनन् ।

सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो । त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ । यतिसम्म कि, खहरे खोला, नदीहरु मिचेर समेत घर, भवनहरु निजी स्वार्थका लागि बनाइएको पाइएको छ ।

केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरुमा महानगरले डोजर चलाएको थियो । त्यतिमात्रै होइन, हात्तीसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुसीमा नदी उत्खनन्, रत्नपार्कमा हडपेर राखिएका पसलहरुलगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ ।

तर, यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञझैँ छ । भत्काइदिएको त छ, तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन । महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पत्ति हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन्, तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन ।

किनभने, महानगरपालिकाले संरचनाहरु भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन । भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुसी नदी उत्खनन्पछि खोला किनारका पसलहरुको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरु हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ ।

कपनका खोला उत्खनन्पछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था हेर्नुहोस्, कतैपनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन ।

त्यसैले महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिने काममा लाग्नुपर्ने देखिन्छ । काठमाडौंलाई अझ सुन्दर बनाउने काममा लाग्दा उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार