AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • राजनीति
  • जापानको राजकीय सम्मान वरिष्ठ नेता पौडेललाई

जापानको राजकीय सम्मान वरिष्ठ नेता पौडेललाई

  • बिहिबार, मंसिर २९, २०७९
जापानको राजकीय सम्मान वरिष्ठ नेता पौडेललाई

काठमाडौं –नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो ।

जापानी सम्राट मेइजीले सुरु गरेकाे राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गरे । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय  सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल-जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि विभूषित गरिएको हो ।

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल-जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्षसमेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रियरूपमा संलग्न थिए ।

विभूषितपछि वरिष्ठ नेता पौडेलले उच्च सम्मानका लागि जापानी सम्राट, सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले जापानले नेपालको विकास निर्माण, कृषि, विपद् व्यवस्थापन, प्रविधि, लोकतन्त्र संस्थागतलगायत क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप निरन्तरताको अपेक्षा गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता पौडेललाई उच्च सम्मान गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन योगदान पुग्ने बताए ।

वरिष्ठ नेता पौडेलले आफ्नो लामो राजनीतिक जीवनकालमा सांसद, मन्त्री, सभामुखलगायत हैसियतमा देशलाई गरेको  योगदान स्मरण गर्दै मन्त्री कार्कीले उनले सभामुखका रूपमा सन् १९९९ मा जापान-नेपालमैत्री संसदीय लिगको स्थापना गरी निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाले सरकार तहदेखि संसदीय तह र जनताको तहसम्म द्विपक्षीय सम्बन्ध विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गरे ।

साथै उनले सामाजिक, आर्थिक र पूर्वाधार क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गरेकामा जापान सरकारप्रति आभार व्यक्त गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेसका नेता, सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्रीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

Facebook Comments

सम्बन्धित समाचार