AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज घरघरमा कुकुर तिहार मनाइँदै

आज घरघरमा कुकुर तिहार मनाइँदै

  • सोमवार, कार्तिक ७, २०७९
आज घरघरमा कुकुर तिहार मनाइँदै

काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर गरी कुकुर तिहार मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

नरक चतुर्दशी

आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नुनपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि समेत छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

Facebook Comments

सम्बन्धित समाचार